जनविद्रोहको कार्यदिशाप्रति मेरो फरक मतः भट्टराई


काठमाडौ, पुस ६ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पार्टीले शान्ति र संविधानभन्दा 'जनविद्रोहको कार्यदिशा' लिएकाले आफूले फरक मत (नोट अफ डिसेन्ट) राखेको बताएका छन् । उनले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउनु अहिलेको मुख्य काम भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल र अर्का उपाध्यक्ष मोहन वैद्यले लिएको विद्रोहको कार्यदिशाप्रति आफू असहमत भएको जनाए ।

'शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन र संविधानसभाबाट अग्रगामी संविधान बनाउन केन्दि्रत भएर काम गर्नुपर्छ भन्ने मेरो सुरुदेखिको मत हो,' उनले कान्तिपुरसँगको वार्तामा भने, 'यसबारेमा पार्टीभित्र फरक खालको सोचको विकास भएको हुनाले मैले आफ्नो विचारलाई फरक रूपमा दर्ज गर्न आवश्यक ठानेको हुँ ।'

भट्टराईले गत शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा दाहालको प्रतिवेदनविरुद्ध फरक मत राखेका थिए । 'मुख्य रूपमा त शान्ति र संविधानलाई मुद्दा बनाएर अघि बढाउने विषयमा फरक मत हो,' उनले भने, 'अर्को पक्ष (संस्थापन)को शान्ति र संविधानलाई ध्यान त दिनुपर्छ तर सम्भावना करिब सिद्धिसक्यो भन्ने हो ।' संस्थापन पक्षले विद्रोह तयारीमा जोड दिएको उनले बताए ।

आफू 'जनविद्रोह' को विरोधी नभए पनि त्यसका लागि समय भइनसकेको पनि बताए । 'मात्रात्मक परिवर्तनपछि जुन बिन्दुमा राजनीति पुग्छ,' उनले आफ्नो धारणा राखे, 'त्यस्तो बिन्दुमा गुणात्मक विद्रोहात्मक परिवर्तन हुन्छ । त्यो ठीक समय चयन हुनुपर्छ भन्ने मेरो भनाइ हो । जनविद्रोहको म विरोधी भने होइन ।'

छिमेकी भारतविरुद्ध राष्ट्रिय प्रतिरोध संघर्ष गर्नुपर्ने अध्यक्ष दाहालको नीतिप्रति भट्टराईले असहमति जनाए । 'सबभन्दा ठूलो पार्टीको हैसियतले राजनीतिक र कूटनीतिक संघर्षमा बढी जोड दिनुपर्छ,' उनले भने, 'पार्टीको आधिकारिक लाइन भनेको भारतको हस्तक्षेप ज्यादै बढेर गयो, त्यसैले राष्ट्रिय प्रतिरोधको तयारीतिर जानुपर्छ भन्ने हो ।'

उनले पालुङटार विस्तारित बैठकमा फरक मत राखेपछि पार्टीमा आफ्नो समर्थन बढ्दै गएको दाबी गरे । 'मैले अघि सारेको विचार नै बढी वैज्ञानिक र वस्तुवादी छ भन्ने विश्वास लागेरै अघि सारेको हुँ,' उनको भनाइ छ, 'म यसबाट बढी उत्साहित छु ।'

पार्टीमा राखेको फरक मत तलसम्म लैजाने र छलफल हुन दिनुपर्ने उनको भनाइ छ । 'हामीले महाधिवेशनसम्म फरक विचार लिएर जान्छौं,' उनले भने, 'हाम्रो पार्टीको २० वर्षदेखि महाधिवेशन भएको छैन । हाम्रोजस्तो जनवादी पार्टीले छिटोभन्दा छिटो महाधिवेशन गरेर जनवादको उच्च अभ्यास गर्नुपर्छ ।'

भट्टराईले दाहाल र आफूबीच व्यक्तिगत टकराव नभएको बताए । 'यो विचार, प्रवृत्ति र लाइनको टकराव हो,' उनले भने, 'व्यक्तिगत होइन ।' पार्टीभित्र चर्को अन्तरविरोध भए पनि पार्टी नफुट्ने उनको दाबी थियो । 'यो धेरै त्याग र बलिदान गरेर आएको पार्टी हो,' उनले थपे, 'त्यस कारण देश र जनताप्रति जिम्मेवारीबोधका कारण पार्टी फुट्दैन ।'
Source:कान्तिपुर

Posted by Butwalonline on 12:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for जनविद्रोहको कार्यदिशाप्रति मेरो फरक मतः भट्टराई

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru