'दस वर्ष म्याद थपे पनि संविधान बन्दैन’

काठमाडौं, ३० वैशाख : कांग्रेस सभापति सुशील कोइरालाले माओवादी इमानदार नभए संविधानसभाको समय दस वर्ष थप गरे पनि शान्तिप्रक्रिया टुंगोमा नपुग्ने दाबी गरेका छन् छन् । शुक्रबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय सहमतिको सरकार गठन हुने स्थितिमा भने संविधानसभाको म्याद थप्न सकिने बताए ।

'अन्यथा कांग्रेस संविधानसभाको म्याद थप्ने पक्षमा छैन' उनले भने, 'अविश्वास नहटी, माओवादी इमानदार र जिम्मेवार नभएसम्म १० वर्ष म्याद थपे पनि शान्तिप्रक्रिया टुंगिँदैन ।' उनले कांग्रेस जनताको चाहनाविपरीत ६ सय एकलाई तलब-भत्ता खुवाउने पक्षमा नरहेको प्रष्ट पारे ।

सभापति कोइरालाले माओवादी इमानदार भए सातदिनमा शान्तिप्रक्रिया निष्कर्षमा पुग्ने र सात दिनमा नै संविधान बन्ने दाबी गरे । माओवादीले अहिलेसम्म डर, धाकधम्की, धोकाको राजनीति गरेको आरोप लगाउँदै उनले माओवादीको यस्तो राजनीतिमा कांग्रेस अब नफस्ने बताए । उनले भने, 'माओवादीले बितेको पाँच वर्ष धाकधम्की र थर्काउनेबाहेक केही गरेन ।'

सभापति कोइरालाले माओवादी अझै हतियार र लडाकु व्यवस्थापनको पक्षमा नरहेको आरोप लगाए । माओवादीसँग लडाकु र हतियार रहेसम्म शान्तिप्रक्रिया टुंगोमा नपुग्ने दाबी उनले गरे । कोइरालाले अगाडि भने, 'प्रचण्डजीले माधव नेपालको सरकार विघटन भए पाँचदिनमा सबै मिल्छ भन्नुहुन्थ्यो, तर अहिलेसम्म केही भएन ।' कांग्रेस पटक-पटक सम्झौता गर्ने पक्षमा नरहेको उल्लेख गर्दै उनले कांग्रेसको प्राथमीकता शान्ति र लोकतान्त्रिक संविधान भएको स्पष्ट पारे ।

सभापति कोइरालाले ६ जेठमा राजधानीमा हुने कांग्रेसको सभाबाट पार्टीको धारणा सार्वजनिक गर्ने पनि बताए । 'हाम्रो चिन्ता शान्तिप्रक्रिया टुंगोमा पुगोस् र लोकतान्त्रिक संविधान निर्माण होस भन्ने हो,' उनले भने, 'कांग्रेसको प्राथमिकता सरकार होइन ।'

नयाँ नेपाल निर्माण गर्ने झुठो आश्वासन दिएर नेपाली जनतालाई झुक्याएको आरोप लगाउँदै सभापति कोइरालाले भने, 'माओवादीको यो झुठो आश्वासनमा परेर नेपाल नै सकिन लाग्यो ।' सरकार निर्माणको सन्दर्भमा एमाले र माओवादीका अध्यक्षबीच भएको सातबुँदे सम्झौताले अपवित्र गठबन्धन निर्माण गरेको भन्दै उनले सम्झौता खारेज नभएसम्म दलहरूबीच विश्वासको वातावरण बन्न नसक्ने बताए । उनले भने, 'सातबुँदे सम्झौता हुनुअघि दलहरूबीच धेरै कुरा मिल्दै थियो, त्यसले सबै बिगार्‍यो ।'

सरकारले बिहीबार संविधानसभाको म्याद थपका लागि विधेयक दर्ता गराएर थप अविश्वास बढाएको आरोप कोइरालाले लगाए । 'अहिले संसद्मा किन विधेयक दर्ता गराउनुपथ्र्यो ?' उनले प्रश्न गरे, 'यसले दलहरूबीचको अविश्वास र द्वन्द्वलाई झनै बढाएको छ ।'

कोइराला-अधिकारी भेट

सरकारले बिहीबार संसद्मा दर्ता गराएको विधेयकमा सहयोगका लागि आग्रह गर्न उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी कांग्रेस सभापति कोइराला निवास पुगेका छन् । अधिकारीले सभापति कोइरालाई म्याद थप गर्ने सरकारको निर्णयलाई साथ दिन आग्रह गरेको बताए । तर कोइरालाले भने भेटमा म्याद थपका विषयमा कुरै नभएको दाबी गरे । उनले भने, 'उहाँले बजेटको कुरा गर्दै हुनुहुन्थ्यो, मैले बजेट असारतिर ल्याए हुन्छ भनेँ ।'

Source:NayaPtrika

Posted by Anonymous on 9:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for 'दस वर्ष म्याद थपे पनि संविधान बन्दैन’

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru