जाँदा जन्ती, फर्कंदा मलामी

ललितपुर, वैशाख ३१ - साथीको बिहेमा जन्ती गएका नागढुंगाका सुमन पोख्रेल चिटिक्क कोट पाइन्टमा थिए । बिहेको रमाइलो र नाचगानमा फुरुङ्ग थिए । शुक्रबार बिहान धापाखेल नागदह जन्ती गएका उनी भारी मन लिएर फर्के । कारण थियो, सँगै जन्ती गएका चार साथीको निधन ।

धापाखेल बेहुली लिन गएका जन्ती टोली बिहान करिब ११ बजे बेहुलीको घर पुगेको थियो । नाचगान रमाइलो चल्दै थियो । कोही मनोरन्जनका लागि बेहुलीघर नजिकैको नागदहमा बोटिङका लागि गए । दुर्भाग्य, प्वाल परेको डुंगाका कारण सवार ६ जना अत्तालिए । आत्तिएर सहयोगका लागि आएको अर्को डुंगामा हाम फाल्दा उनीहरू दहमा खसे । दुई जनाको तत्काल उद्धार हुन सक्यो । दहमा खसेका चार जना भने बाँच्न सकेनन् ।

'हामी जन्ती आएका थियौं,' घटनापछि उद्धारमा खटिएका पोख्रेलले कान्तिपुरसित भने, 'बिहेको खुसियालीमा आएको, मलामी भएर फर्कनुपर्‍यो ।' दहमा खसेका नागढुंगाका २१ वर्षीय राजकुमार थापा, १७ वर्षीय मिलन बस्नेत, २० वर्षीया सिर्जना कार्की र २० वर्षीय श्याम कुँवरको घटनास्थलमै निधन भयो । पानीमा डुबेका २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । दिउँसो करिब दुई बजे पानीमा डुबेका उनीहरूको शव तीन घन्टापछि प्रहरीले निकालेको थियो । उद्धारका लागि जनपद प्रहरी र सशस्त्र प्रहरीको दक्षिणकाली गणको टोली घटनास्थलमा खटिएको थियो । उनीहरूले डोरी र हुक प्रयोग गरेर मृतकको शव पानीबाहिर तानेका हुन् ।

धापाखेलस्थित बेहुलीको घरमा बिहेको काम हुँदै गर्दा १० जनाको टोली बोटिङका लागि नागदह पुगेको अन्य जन्तीले बताए । उनीहरूले लिएकोमध्ये प्वाल भएको एउटा डुंगामा पानी भरिएको र छेवैमा पुगेको अर्को डुंगामा हाम फाल्न खोज्दा दुर्घटना भएको प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बताए । 'नजिकै आएको अर्को डुंगामा हाम फाल्न खोज्दा असन्तुलित भएर पल्टिएको देखिन्छ,' उनले भने । पानीमा खसेकामध्ये दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । बोटिङका लागि गएका अरू चार जना सामान्य रहेको नायब उपरीक्षक खरेलले बताए ।

मृतकको शव भेटिएपछि जन्ती र आफन्तले लापरबाहीपूर्वक डुंगा सञ्चालन गर्नेलाई कारबाहीको माग गर्दै नागदहमा प्रदर्शन गरे । डुंगा सञ्चालन गर्ने नागदह संरक्षण समितिले घटनाको जिम्मेवारी लिनुपर्ने र मृतकको परिवारलाई राहत दिनुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका थिए । प्रहरी नायब उपरीक्षक खरेलले दुवै पक्षका प्रतिनिधिलाई सहभागी गराई छलफल गरिने बताए ।

ललितपुरको धापाखेलमा रहेको नागदह काठमाडौं उपत्यकाको महत्त्वपूर्ण सिमसारक्षेत्र मानिन्छ । २९ फिट गहिरो दहमा हिलो र जलकुम्भीका कारण डुबेकाहरूको जीवितै उद्धार गर्न नसकिएको स्थानीय बासिन्दाको भनाइ छ । घटनापछि डुंगा सञ्चालन गरेको नागदह संरक्षण समितिका पदाधिकारी प्रहरी र पीडितको सम्पर्कबाहिर थिए ।

तीन बससहित आधा दर्जनभन्दा बढी गाडीको लस्करसहित गएका ३ सय ५० मध्ये अधिकांश जन्ती डुबेकाहरूको उद्धारमा जुटेका थिए । घटनापछि केही जन्तीले बिहे रोक्न नहुने भन्दै बेहुलीसहितका बेहुलालाई नागढुंगा पठाएका छन् ।


Kantipur News

Posted by Anonymous on 9:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for जाँदा जन्ती, फर्कंदा मलामी

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru