कुवेतमा गैरकानुनी कामदारलाई आममाफी
News 9:40 AM
२४ फागुन, काठमाडौं । गैरकानुनीरुपमा बसेका आप्रवासी कामदारहरुलाई कुवेत सरकारले स्वदेश फर्किन वा कानुनी हैसियत प्राप्त गरी बस्न आममाफी (एमनेस्टी) दिने घोषणा गरेपछि कुवेतस्थित नेपाली दुतावासमा ट्राभल डकुमेन्ट लिने नेपाली कामदारहरुको घुईंचो लागेको छ ।
कुवेत सरकारले चार महिनाको अवधि तोकेर यही मार्च १ देखि जून ३० अर्थात् फागुन १७ देखि असार १६ गतेसम्म आममाफी दिने घोषणा गरेको छ । कुवेत सरकारको यो घोषणाबाट गैरकानुनी रुपमा कार्यरत करिब चार हजार नेपाली लाभान्वित हुने अनुमान छ ।
आममाफीमा हत्याको आरोप लागेका, लागूऔषध, तस्करी, कारागार सजाय भोगेका भने नपर्ने कुवेत सरकारले स्पष्ट पारेको छ । गैरकानुनी रुपमा बसेका कामदारले भने सुविधा सदुपयोग गर्न पाउने छन् । कुवेतका लागि नेपाली राजदुत मधुवन पौडेलले आममाफीको सुविधालाई समयमै सदुपयोग गर्न गैरकानुनी नेपाली कामदारहरुलाई आग्रह गर्नुभयो ।
गैरकानुनी हुनेमध्ये अधिकांश आफ्नो स्पोन्सर अर्थात् साहु वा कम्पनी छाडेर भाग्ने कामदार छन् । खाडी राष्ट्रहरुमा स्पोन्सरको अनुमतिबिना अरु ठाउँमा काम गर्नुलाई गैरकानुनी रुपमा लिइन्छ ।
कुवेत सरकारले आममाफीको अवधिभर स्वदेश जानेहरुले कुनै सजाय भोग्नु नपर्ने र दण्ड जरिवाना तिर्नु नपर्ने र पुनः कुवेत फर्किन पाउने घोषण गरेको छ । तर तोकिएको समयअवधिभित्र कानुनी हैसियत नपाई कुवेतमै बस्नेले कडा सजाय भोग्नुपर्ने, सजायपछि देश निकाला गर्ने र पुनः कुवेत आउन नदिने भएको छ ।
दूतावासले साहू वा कम्पनीबाट तलबलगायत सुविधा पाउन बाँकी र उक्त सुविधा पाउनका लागि अदालतमा मुद्दा चलाएको रकम पाउनका लागि कानुनी रुपमा कसैलाई प्रतिनिधि नियुक्ति गरी घर जान सक्ने बताएको छ ।
राहदानी हराएका, म्याद नाघेका, आवासीय भिसा नभएका, प्रवेश भिसा भएर आवासीय भिसा नलिएका, कुनै कारणले राहदानी नभएर यात्रा अनुमति पत्र लिनुपर्ने, बहिर्गमन भिसा लिने, भिजिट भिसामा आएर म्याद समाप्त भएकालगायत विभिन्न विषयमा जानकारी लिन अध्यागमन विभाग र दुतावासमा नेपालीहरुको घुइँचो लागेको छ । तीन दिनको अवधिमा पाँच सय भन्दा बढी नेपाली कामदार सम्पर्कमा आएको र त्यत्तिकै संख्यामा नेपाली कामदारले टेलिफोनमार्फत् नाम टिपाएको दुतावासले जनाएको छ । सम्पर्कमा आउनेमध्ये ५ सय ९९ महिला छन् । दूतावासले आफ्नो फोन नम्बर २५२४३२५४ र २५२४३२५७ सम्पर्क गरी थप जानकारी लिन सकिने जनाएको छ ।
कुवेतले आफ्नो राष्ट्रिय दिवसको स्वर्ण महोत्सव, २० औं स्वर्ण महोत्सव र राजा साबह अल जावर अल सबानको पाँचौं राज्य रोहणको अवसर पारेर आममाफी घोषणा गरेको हो । फागुन १४ मा मनाइएको कुवेतको राष्ट्रिय दिवसमा राष्ट्रपति डा. रामवरण यादव पनि सहभागी हुनु भएको थियो ।






