माओवादीले देशव्यापी प्रदर्शन गर्ने

ठमाडौ, वैशाख २० -
संविधानसभा भंग गर्ने षड्यन्त्र भइरहेको भन्दै माओवादीले शान्ति र संविधानका पक्षमा देशभर 'शक्ति प्रदर्शन' गर्ने निर्णय गरेको छ । उसले दस दिने प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार बसेको पदाधिकारी बैठकले आगामी जेठ १ गते देखि १० गतेसम्म आफ्ना सम्पूर्ण जनवर्गीय संगठनहरू परिचालन गर्ने र मुलुकभर आमसभा गर्ने निर्णय गरेको छ । 'शान्ति र संविधानमा षड्यन्त्र भइरहेको छ र प्रतिक्रान्ति हुने खतरा बढेको छ,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'त्यसकारण जनपरिचालन गर्ने निर्णय गरेका हौं ।'

उसले मुलुकका पाँच सहरमा केन्द्रीय सभा गर्ने निर्णय गरेको छ । जसअनुसार जेठ १० गते काठमाडौं, जनकपुर, धनगढी, विराटनगर पोखरालगायत सहरमा आमसभा गर्ने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेेष्ठले जानकारी दिए । काठमाडौंमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहालले, जनकपुरमा उपाध्यक्ष बाबुराम भट्टराई, धनगढीमा श्रेष्ठ, पोखरामा महासचिव रामबहादुर थापा, विराटनगरमा सीपी गजुरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

दाहाल मन्त्री छान्दै

अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम छान्दै छन् । केन्द्रीय पदाधिकारीको बैठकले मन्त्री चयन गर्ने जिम्मा दाहाललाई दिएपछि मंगलबार उनी मन्त्री चयन गर्ने गृहकार्यमा लागेका हुन् । उनले सात मन्त्री र ११ राज्यमन्त्री चयन गर्नेछन् ।

उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईलगायत अन्य पदाधिकारीको सुझावका आधारमा मन्त्री चयन गर्न लागेको एक नेताले बताए । उनका अनुसार दाहालले स्थायी समिति सदस्यहरू देव गुरुङ, गिरिराजमणि पोख्रेल, दीनानाथ शर्मा, पोलिटब्युुरो सदस्यहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, लोकेन्द्र बिष्ट, विश्वभक्त दुलाल, केन्द्रीय सदस्यहरू जयपुरी घर्ती, हितबहादुर तामाङ, रामचरण चौधरी, प्रभु साह, महेन्द्र पासवान, रामकुमार शर्मामध्येबाट सात जना मन्त्री चयन गर्नेछन् । राज्य मन्त्रीका लागि करिब दुई दर्जन व्यक्तिको सूची तयार पारिएको छ ।

दाहालले गृहमन्त्री हाल उप तथा सञ्चारमन्त्री रहेका कृष्णबहादुर महरा, गुरुङ र हाल शान्तिमन्त्री वर्षमान पुनमध्ये को हुने भन्ने निर्णय गर्नेछन् । स्रोतका अनुसार गृहमन्त्रीमा महरा हुने सम्भावना छ । दाहालले सकभर बुधबार प्रधानमन्त्री झलनाथ खनाललाई मन्त्री हुने व्यक्तिको सूची दिने निकट स्रोतले जनाएको छ।



Source:Kantipur News

Posted by Anonymous on 9:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for माओवादीले देशव्यापी प्रदर्शन गर्ने

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru