विद्यार्थी संगठनबीच द्वन्द्व बढ्यो

काठमाडौ, पुस ९ - एमाले र कांग्रेस सम्बद्ध विद्यार्थी संगठनबीचको आपसी द्वन्द्व बढेर गएको छ । क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच हतियार प्रहार र एक-अर्काप्रतिको आक्रमण बढेको हो ।

राजधानीको त्रिचन्द्र क्याम्पसमा आइतबार अनेरास्ववियुका वीरेन्द्र रावलमाथि हतियार प्रहारको घटनाले तीव्र राजनीतिक रूप लिएको छ । घटनाबारे नेविसंघले बिहीबार पत्रकार सम्मेलन गरेर आफ्नो संलग्नता नरहेको दाबी गरे पनि अखिलले संघका भीम गुरुङविरुद्ध किटानी जाहेरी दिएर संघलाई चुनौती दिएको छ । संघले यसलाई राजनीतिक प्रतिशोध भन्दै प्रतिकारको चेतावनी दिएको छ ।

संघ अध्यक्ष प्रदीप पौडेलले गृह प्रशासनको आडमा अखिलले व्यक्तिगत रिसइबीमा भएको घटनालाई राजनीतिकरण गरेको आरोप लगाए । 'पछिल्लो दिनमा अखिलसित हाम्रो कुनै विवाद

वा झैझगडा छैन,' अध्यक्ष पौडेलले कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार सञ्चारकर्मीसित भने, 'घटनामा हाम्रो संलग्नता छैन । निष्पक्ष छानबिनमा सघाउन संघ तयार

छ । व्यक्तिगत रिसइबीको घटनामा अखिलले सांगठनिक प्रतिशोध लिन खोजे त्यसको प्रतिकार गर्न हामी बाध्य हुनेछौं ।'

उनले आफ्नो संगठनका सञ्जय यादवलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरे । 'उनका विरुद्ध कसैले किटानी दिएको छैन, आफू अनेकसित विवाद गर्दै हिँड्ने, बजारका कोही हतियारधारीले आक्रमण गर्दा संघलाई दोष लगाउने ?' उनले भने, 'त्रिचन्द्रमा नेविसंघको पक्कड भत्काउन अखिलले लगाएको यो झुटो आरोप हो । ती घाइतेले आफू सबै हिसाबबाट शुद्ध भएको पुष्टि गर्न म चुनौति दिन्छु । घटनामा संघका कार्यकर्ता सम्बद्ध भए कारबाही गर्छु ।'

अनेरास्ववियुले भने संघको दावीको प्रतिवाद गर्दै अखिलमाथि नियोजित प्रहार भएको बताएको छ । अखिल उपाध्यक्ष लक्ष्मण लम्सालले त्रिचन्द्रमा अखिलको संगठन विस्तार हुन थाले पछि आत्तिएर 'आक्रमण'मा उत्रेको बताए । 'संघले पटक पटक अखिलका कार्यकर्तामाथि गरेको आक्रमणबाट पनि यो पुष्टि हुन्छ', उनले भने, 'घटना भइसकेपछि अहिले होइन भनेर जिम्मेवारीबाट पन्छिन मिल्दैन । संघले दोषीलाई कारबाही गर्न सघाउनु पर्छ । तर त्यसो नगरेर झन विवाद चर्काउँदै लगेको छ ।'

दोषीलाई कारबाही गर्नेबारे दुवै सहमत भए पनि एक-अर्काबीचको दोषारोपणले दुई संगठनबीचको सम्बन्ध चिसिदै गएको छ । 'मैले पटकपटक बसेर वास्तविकताबारे छलफल गरौं भनेर अखिलका नेता-साथीहरूलाई भनेको छु,' संघ अध्यक्ष पौडेलले भने, 'तर उहाँहरू गृहप्रशासनको आडमा बाहुबल देखाउन चाहनु हुन्छ ।

आरोपकै भरमा सबैलाई समात्दै जाने हो भने अखिलका पनि कोही बाकी रहन्नन् ।'

अखिलका उपाध्यक्ष लम्सालले दोषी पक्राउ नभएसम्म वार्ताको सम्भावना नरहेको बताए । दुवै संगठनको मातृ पार्टी सरकारमा रहे पनि गृहमन्त्रालयले घटनालाई चासोका रूपमा नलिएकाले आफूहरू दैनिक आन्दोलनमा उत्रिनु परेको उनको दाबी थियो । 'गृह प्रशासनले हामीले भनेको मान्ने भए दोषीलाई समाइसक्थ्यो,' उनले भने ।

त्रिचन्द्रमा यसअघि पनि पटकपटक हतियारसहितको झडप र आक्रमण भएको थियो । संगठन विस्तार तथा क्याम्पस निर्माणको ठेक्कापट्टामा कुरा नमिल्दा विद्यार्थीबीच झडप हुने गरेको छ । हतियारसहितको आक्रमणको दोष भने एक-अर्कालाई लगाउने गरेका छन् ।

यासपालि स्ववियु निर्वाचनको वर्ष हो । त्रिभुवन विश्वविद्यालयले मिति घोषणा नगरे पनि चैतसम्ममा निर्वाचन हुनेछ । निर्वाचनको दुई महिनाअघि भएको यो घटनाले त्यसमा प्रभाव पर्ने दुवै संगठनका नेताहरूले बताएका छन् ।

'आक्रमणका घटनाले राम्रो सन्देश जाँदैन,' पौडेल भन्छन्, 'बाहुबलको विरोध र लोकतन्त्रको पक्षमा लाग्ने दुई संगठन आफै लड्दा हामीले अरूलाई भन्ने ठाउँ रहन्न ।' लम्सालका शब्दमा यस घटनाका दोषी पत्ता नलागी संघसित कुनै खालको सहकार्य सम्भव छैन ।


Source:कान्तिपुर दैनिक

Posted by Butwalonline on 10:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for विद्यार्थी संगठनबीच द्वन्द्व बढ्यो

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru