पारसको कसुर ठहर

भरतपुर, वैशाख १४ -
चितवनमा गोली चलाएको घटनामा पूर्वयुवराज पारस शाहले कसुर गरेको ठहर गर्दै प्रमुख जिल्ला अधिकारीले 'कागज गराउने' फैसला सुनाएका छन् ।

प्रजिअ वसन्तराज गौतमले सार्वजनिक अपराध तथा तथा सजाय ऐन, २०२७ को दफा ६ -२) बमोजिम पहिलो पटकका लागि कागज गराई छाड्ने बुधबार फैसला गरेका हुन् । पारसले कागज गर्न ३५ दिनभित्र जिल्ला प्रशासनमा उपस्थित हुनुपर्नेछ ।

किटानी जाहेरी, घटनाको कागज, प्रतिवादी र साक्षीका बयान, घटनास्थल मुचुल्का, बकपत्र र बयानका क्रममा पारस स्वयंले आवेशमा आई रुवेलसित भनाभन भएको स्वीकार गरेकाले कसुर स्थापित हुन नसकेको भन्न नमिल्ने अवस्था नआएको फैसलामा उल्लेख छ ।

फैसला हुँदा जिल्ला प्रशासन कार्यालयको दृश्य अघिल्ला दिनहरूभन्दा फरक थियो । प्रशासन परिसर सुनसान थियो । कार्यालयमा आधा दर्जन प्रहरी मात्रै थिए । सडकमा नाराबाजी केही

भएन । विगतमा दलबलसहित तीन पटक जिल्ला प्रशासनमा हाजिर भएका पूर्वयुवराज फैसला सुन्न भने आएनन् ।

यसअघि पेसीका बेला दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्नुपरेकामा बुधबार प्रशासनलाई हाइसञ्चो भयो । नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दले सबैतिर सन्नाटा थियो । बन्दका कारण अघिल्लै दिन राजधानीबाट आएका वकिल आफ्नो बहस सकेर बाहिर निस्कँदै गफिएका थिए । 'बनावटी अभियोग कसरी पुष्टि हुनु,' शाहका वकिल गणेश केसीले भने, 'होटल कर्मचारी र रुवेल स्वयं कसैले घटना पुष्टि गरेनन् ।'

बहस चाँडै टुंगिए पनि फैसला सुनाउन समय लाग्यो । अपराह्न सञ्चारकर्मी जुटाएर फैसला सुनाइयो । यसअघि पारस उपस्थित हुँदा सञ्चारकर्मीलाई तस्बिर खिच्न मुस्किल पथ्र्यो । अपराह्न मुद्दा शाखाबाहिर पारसको साढे ४ महिना लामो मुद्दा टुंगिएको जानकारी

गराउँदा स्थिति सामान्य थियो । उनीमाथि केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत चितवन प्रशासनमा मुद्दा चलेेको थियो ।

पारसका कानुन व्यवसायी शिवबहादुर पाण्डेका अनुसार म्यादभित्र पुनरावेदन नगरेमा फैसला स्वतः कार्यान्वयन हुनेछ । भर्खरै फैसला भएको हुँदा उनी पुनरावेदन जाने/नजाने यकिन छैन । अन्तिम पेसीमा उपस्थित हुने बताएका उनी फैसलाका बेला अनुपस्थित थिए । बहसका लागि उनका वकिल थिए ।

फैसलामा शान्ति सुरक्षा कायम राख्न सचेत नागरिकको भूमिका अहम् हुने उल्लेख छ । साथै आपसी कुरा र संवादका क्रममा अन्यलाई खलल नपुगोस् र प्रचलित कानुनको अबज्ञा नहोस् भनेर सचेत बन्नुपर्ने उल्लेख छ ।

चैत ८ गते बयानका लागि चितवन आएका मुद्दाका वादी रुवेल चौधरी घटना पुष्टि हुने तरिकाले प्रस्तुत भएका थिए । उनले दिएको बकपत्रमा पारसको हातमा पेस्तोल देखेको बताएका थिए । चौधरीले उनीसँग आफ्नो रिसइबी र लेनदेन नरहेको बताउँदै दुःख मान्नुपर्ने कारण नभएको बताएका थिए । होटलमा चिनजान क्रममा राजनीतिक कुराकानी भएको चौधरीले बताएका छन् ।

'सजाय पाएको र सफाइ मिलेको अवस्था होइन,' पारसका वकिल पाण्डेले भने, 'यस्तै अपराध दोहोरियो भने पटके कायम हुन्छ ।' फैसलापछि उनले बुझाएको १० हजार धरौटी फिर्ता हुनेछ । यसबीच साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढाउँदा मुद्दा किनारा हुने देखिएको उल्लेख छ । 'घटना ठहर्‍यो,' जिल्ला प्रशासन कार्यालयको कानुन शाखाका नासु हरि सिग्देलले भने, 'कागज गर्न आफंै आउनुपर्छ ।'

बुधबार पारसका तर्फबाट अधिवक्ताहरू गणेश केसी, शिवबहादुर पाण्डे, बद्री गौतम, चूडामणि सापकोटा, पोषराज काफ्ले, हीरा रेग्मी, विष्णुहरि कोइरालाले बहस गरेका थिए । वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता गीताप्रसाद तिम्सिना र सहन्यायाधिवक्ता भीमप्रसाद भुर्तेलले बहस गरे ।

गत मंसिर २५ गते चितवन निकुञ्जभित्र होटल टाइगर टप्समा वादविवाद हुँदा पारसले बंगलादेशी नागरिक रुवेल चौधरीलाई लक्ष्ाित गरी गोली चलाएको आरोपमा मेघौली चौकीका प्रहरी सहायक निरीक्षक गंगाबहादुर छेत्रीले उनीविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेका थिए । पोखराबाट मंसिर २८ गते पक्राउ गरिएका पारस पुस १ गते १० हजार धरौटी राखेर तारेखमा रिहा भएका थिए ।

Source:Kantipur News

Posted by Butwalonline on 7:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पारसको कसुर ठहर

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru