सुरक्षा सतर्कता

काठमाडौ,
अमेरिकी सेनाले अलकायदाका संस्थापक नेता ओसमा बिन लादेनलाई मारेको सूचना सार्वजनिक भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर सुरक्षा सतर्कता बढाएका छन् ।

अमेरिकी सुरक्षा निकायको सर्वाधिक खोजीको सूचीमा रहेका बिन लादेनलाई मारेको आवेशमा कुनै अपि्रय घटना नहुन् भनेर सुरक्षा निकायले सतर्कता अपनाएका हुन् ।

अमेरिकी दूतावास, अमेरिकी नागरिक, नियोगहरू र उनीहरूसँग कार्यगत एकता गर्ने देशका दूतावासहरूको सूची बनाएर सुरक्षा निकायले सोमबार अपराह्नदेखि निगरानी बढाएको छ । काठमाडौंमा रहेका अमेरिकी राजदूतावास, रिक्रिएसन सेन्टर, राजदूतका निवासलगायत संवेदनशील निकायहरूको सुरक्षा सशस्त्र प्रहरी बलबाट परिचालित सुरक्षाकर्मीले हेर्ने गर्छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले लादेनलाई अमेरिकी फौजले मार्न सफल भएको जानकारी दिएलगत्तै अमेरिकी दूतावास आफैंले पनि आफ्नो सुरक्षा संयन्त्रलाई विशेष सर्तक रहन र कार्यालय हाताको सुरक्षा हेर्ने बलका सुरक्षाकर्मीलाई समेत उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

'अमेरिकी दूतावास र अन्य निकायमा खटिएका बलका सुरक्षा अधिकृतहरूलाई बोलाएरै अन्तर्राष्ट्रिय परिस्थिति बताउँदै विशेष सुरक्षा रणनीति अपनाएर परिचालित हुन निर्देशन दिएको छु,' बलका महानिरीक्षक सनत बस्नेतले भने ।

'हामीले थाहा पाउनेबित्तिकै आपसी छलफल गरेर देशभरि नै सुरक्षा निकायलाई चनाखो हुन निर्देशन जारी गरेका छौं,' नेपाल प्रहरीका प्रवक्ता नवराज ढकालले भने, 'हाम्रो देशमा अलकायदाको सञ्जालै नभएका कारण अत्तिनुपर्ने अवस्था त छैन तर विरोधका नाममा घटना घटाउन संसारका जुनसुकै स्थानमा जे पनि हुन सक्ने भएकाले सुरक्षा सतर्कता बढाउन निर्देशन गरेका हौं ।'

Source:Kantipur News

Posted by Anonymous on 9:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सुरक्षा सतर्कता

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru