राज्यमन्त्रीले कब्जा जमाउँदा फुलमन्त्री क्वाटरबिहीन

दयानिधि भट्ट

२५ वैशाख, काठमाडौँ । लामो समयको प्रतिक्षापछि मन्त्री बनेका झलनाथ खनाल मन्त्रिपरिषद्का अधिकांश सदस्यहरु सरकारी आवास पाउन पनि प्रतिक्षासूचीमै बस्नुपर्ने बाध्यतामा पुगेका छन् ।
प्रधानमन्त्री झलनाथ खनालले वैशाख २२ मा चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दा सपथ लिएका एकीकृत नेकपा माओवादी, मधेसी जनाधिकार फोरम, नेकपा माले र संयुक्तका गरी १५ मन्त्रीमध्ये सञ्चारमन्त्री अग्नि सापकोटाले मात्र पुल्चोकस्थित सरकारी निवासमा बस्ने सौभाग्य पाएका छन् ।
सापकोटाले प्रयोग गरेको पुलचोकस्थित मन्त्री क्वाटर उप-प्रधान एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादवका लागि बुक गरिएको भएपनि सोही दिन शान्तिमन्त्रीबाट राजीनामा दिएका वर्षमान पुन बाहिरिएलगत्तै सापकोटा भित्रिएका थिए । क्वाटर अभावको सुइँको पाएका मन्त्री पुनले आफु बाहिरिन लागेको सूचना दिएर सापकोटालाई आफु बसेको क्वाटर जिम्मा लगाएका थिए ।
जम्मा २१ वटा क्वाटर रहेको पुलचोकस्थित मन्त्रीहरुको सरकारी निवासमा हाल १९ मन्त्री बसिरहेका छन् । दुईवटा क्वाटर भने छाना चुहिने भएकाले खाली छन् । एमाले र माओवादीबाट दोस्रो र तेस्रो चरणको क्याविनेट विस्तारमा परेका राज्यमन्त्रीसम्मले क्वाटर कव्जा गरेकाले नयाँ मन्त्रीले पुल्चोकमा बास नपाएका हुन् ।
विना विभागीय मन्त्री धनश्याम भुसाल बाहेक एमालेका सात मन्त्री र ८ राज्यमन्त्री तथा पहिलो चरणमा नियुक्त भएका माओवादीका ४ मन्त्रीले भने सरकारी क्वाटर पाएका छन् ।
क्वाटर नपाउनेमा माओवादीका स्वास्थ्य तथा जनसंख्या मन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री प्रभु साह, भूमिसुधार मन्त्री रामचरण चौधरी थारु, युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङ र शान्ति मन्त्री विश्वनाथ साह छन् । त्यसैगरी फोरमका उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादव, कृषिमन्त्री हरिनारायण चौधरी र श्रममन्त्री मोहम्मद इस्तियाक राईले पनि क्वाटर पाएका छैनन् ।
सुबिधासम्पन्न मानिने सरकारी क्वाटरको प्रतिक्षासूचीमा रहने अन्य मन्त्रीहरुमा नेकपा संयुक्तका तर्फबाट वातावरण मन्त्री बनेका सुनिल मानन्धर र मालेबाट प्रतिनिधित्व गर्ने संस्कृतिमन्त्री खगेन्द्र प्रसाई छन् ।
क्वाटर नपाएपछि मन्त्रीहरु पूरानै डेरामा बसिरहेका छन् । युवा तथा खुलकुद मन्त्री हितबहादुर तामाङले क्वाटर नपाएकाले सुकेधारामा यसअघि बस्दै आएको डेराबाटै मन्त्रालय धाउने गरेको बताए ।
‘एमालेका राज्यमन्त्री सम्मले क्वाटर पाएका छन्’ अनलाइनवखरसित कुरा गर्दै तामाङले भने ‘हामी फूलमन्त्री भने बास खोज्दै हिँड्नु पर्ने अवस्था आएको छ, राज्यमन्त्री निवास कब्जा गरिदिए ।’
मन्त्री तामाङले क्वाटर नपाएको विषयमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएपनि कुनै जवाफ नआएको बताए । तामाङले भने ‘सरकारी क्वाटर पाउने छाँट छैन, बाहिरै डेरा खोजिरहेको छु ।’
क्वाटर सुविधाबाट वञ्चित मन्त्रीहरुले प्रधानमन्त्री झलनाथ खनालसमक्ष एमालेका राज्यमन्त्री हटाएर क्वाटरमा आफूहरु बस्न पाउनु पर्ने माग गरेका छन् । जवाफमा प्रधानमन्त्रीले बसिसकेकालाई हटाउन अप्ठ्यारो पर्ने भन्दै कुनै निजी अपार्टमेन्ट भाडामा लिएर मन्त्रीहरुलाई आवास व्यवस्था गर्ने आस्वासन दिनुभएको स्रोतले जनाएको छ ।
तर, खनाल सोमबारदेखि सुरु हुने अतिकम विकसित मुलुकहरुको संगठन (एलडिसी) को सम्मेलनमा भाग लिन टर्की गएकाले त्यताबाट नफर्किँदासम्म मन्त्रीहरुका लागि नयाँ आवास व्यवस्था नहुने पक्का छ ।

कसरी आयो समस्या ?
यसअघि क्याबिनेटस्तरका (फुल)मन्त्रीले मात्र पुल्चोकका सरकारी आवास प्रयोग गर्ने गरेपनि यसपटक भने एमालेका राज्यमन्त्रीहरुले पहिल्यै क्वाटर कव्जा गरेपछि अरु मन्त्री क्वाटरविहीन भएका हुन् ।
प्रधानमन्त्री झलनाथ खनालले तेस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा एमालेबाट राज्यमन्त्री बनेका ल्हारक्याल लामा बाहेक सात राज्यमन्त्री पुल्चोक क्वाटरमा बसिरहेका छन् । यसअघि राज्यमन्त्रीहरुलाई घरभाडा बापत मासिक १० हजार रुपैयाँ दिएपनि सरकारी आवास भने प्रयोग गर्न दिदैनथ्यो ।

Onlinekhabar

Posted by Anonymous on 10:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for राज्यमन्त्रीले कब्जा जमाउँदा फुलमन्त्री क्वाटरबिहीन

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru