भोलि कांग्रेसको शक्ति प्रदर्शन

काठमाडौ, जेष्ठ ५ - शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणको पक्षमा जनदबाब सिर्जना गर्न कांग्रेसले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । माओवादीका ठूला सभामा देखिने सहभागितालाई चुनौती दिन कांग्रेसले जेठ ६ गतेको सभामा सम्पूर्ण ध्यान लगाएको हो ।
कांग्रेसले वैशाख ११ देखि थालेको जागरण अभियानको अन्तिम सभा राजधानीमा गर्न लागेको हो । यसअघि राजधानीबाहिर केन्द्रीयस्तरका छ वटा सभामा समेत उसले ठूलो संख्यामा जनपरिचालन गरेको थियो । त्यस्तै ३८ वटा जिल्लास्तरीय सभा पनि गरिएको उसले जनाएको छ ।
राजधानीको सभामा सहभागिता बढाउन कांग्रेसले वाग्मतीका आठ जिल्लाको २९ निर्वाचन क्षेत्रमा व्यापक प्रचारप्रसार थालेको छ । सभाको उद्देश्यबारे स्थानीयलाई बुझाउन केन्द्रीय कार्यसमितिले प्रत्येक निर्वाचन क्षेत्रमा तीन जना केन्द्रीय सदस्यसमेत खटाएको छ ।
प्रचारप्रसारका लागि घरदैलो, अन्तरक्रिया, कोणसभा, माइकिङ, पोस्टर, पम्प्लेटिङ, फ्लेक्स, एसएमएसका माध्यम प्रयोग गरिएको छ । शान्ति र संविधानको कार्यसूची लिएर कांग्रेस लामो समयपछि जनपरिचालनमा होमिएको हो ।
सभामार्फत कांग्रेसले शान्तिप्रक्रिया, संविधान निर्माण, संविधानसभाको म्याद थपसम्बन्धी प्रस्तावलगायत समसामयिक राजनीतिक कार्यनीति ल्याउने घोषणा गरेको छ । यसलाई उसले 'शान्ति प्रक्रिया र संविधान निर्माणसम्बन्धी पार्टीको अन्तिम बटमलाइन' भनेको छ । शान्तिप्रक्रियामा विगतमा गरेको सहमति र सम्झौता कार्यान्वयन नगरेकोप्रति कांग्रेस नेताहरू माओवादीप्रति बढी आक्रामक देखिएका छन् । अभियान मुख्य रूपमा माओवादीलाई दबाब दिन आयोजना गरिएको हो । कांग्रेसका एक केन्द्रीय सदस्यले बारम्बारको वार्ता र छलफलबाट टुंगोमा पुग्ने अवस्था नदेखिएपछि जनस्तरबाटै दबाब सिर्जना गर्न जागरण अभियान थालिएको बताए ।
पार्टी महामन्त्री प्रकाशमान सिंहले जेठ ६ को जागरणसभा कांग्रेसको मात्रै नभएर शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान पक्षधर सबै नेपालीको भएको बताए । सभा तयारीबारे जानकारी दिन बुधबार आफ्नै निवास चाक्सीबारीमा गरेको पत्रकार सम्मेलनमा उनले भने, 'शान्ति र संविधानका पक्ष्ापाती सबैलाई कार्यक्रमका ऐक्यबद्धता जनाउन आग्रह गर्छु ।'
सिंहले वर्तमान राजनीतिक संकटको निकासका लागि कांग्रेसले सभामार्फत धारणा ल्याउन लागेकाले पनि सबैको चासो बढेको बताए । वर्तमान सरकारले जति अर्जुनदृष्टि भने पनि शान्तिप्रक्रिया र संविधान निर्माण पूरा गर्न नसक्ने उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणमा समेत कांग्रेसले पहल गर्ने बताए ।
अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले शुक्रबार बिहानसम्मको राजनीतिक परिस्थिति विश्लेषण गरेर सबै विषयमा स्पष्ट कार्यनीति सार्वजनिक गर्ने बताए । 'संविधानसभाको म्याद थपको अन्योल, शान्तिप्रक्रिया र संविधान निर्माणबारे हामी नयाँ घोषणा गरेर जान्छौं,' उनले भने, 'शान्तिप्रक्रियामा सहमति हुन सकेन भने संविधानसभाको म्याद थपको पक्ष्ामा कांग्रेस हुने छैन ।' संविधानसभा विघटन भएको अवस्थामा के गर्ने भन्ने विकल्पमा पनि पार्टीभित्र छलफल भइरहेको उनले बताए ।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले अभियानबाट शान्तिप्रक्रियाको मुद्दा जनस्तरसम्म स्थापित भएको बताए । 'कांग्रेसको शक्ति बलियो भएमा नै लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ भन्दै हामीले सबैलाई सभामा आउन आग्रह गर्दै हिँडेका छौं,' जोशीले भने ।

KantipurNews

Posted by Butwalonline on 10:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for भोलि कांग्रेसको शक्ति प्रदर्शन

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru