हङकङमा नेपालीको बुद्ध जयन्ति र्‍याली

विरोध प्रदर्शन गर्नमा नाम कमाएका नेपालीले पहिलो पटक शान्ति र्‍याली गरी स्थानीय चिनियाँ र प्रहरीलाई समेत चकित पारेका छन्। चिनियाँ बुद्ध जयन्तीको अवसरमा मंगलबार हङकङमा नेपाल पर्यटन वर्षको प्रचार गर्दै शान्ति र्‍याली गरिएको हो। र्‍यालीमा बुद्ध नेपालमा जन्मिएको र नेपाल पर्यटन वर्षलाई मुख्य रुपमा हाइलाईट गरिएको थियो।


हङकङमा नेपालीहरूको बाक्लो वस्ती रहेको जोर्डन नजिकैको काउलुन पार्कबाट सुरु भएको शान्ति र्‍याली याउमा तेइस्थित सकम्युनिटी सेन्टरमा पुगेपछि समारोह गरिएको थियो। चिनियाँ र अंग्रेजीमा लेखिएको बुद्ध नेपालमा जन्मिएको ब्यानरसहित बुद्ध, हिमाल र नेपालका पर्यटकीय स्थल झल्काउने पोष्टर बोकेका करिब तीन सय नेपाली र केही चिनियाँसमेत र्‍यालीमा सहभागी भए। तमु एसोसिएसन हङकङले आयोजना गरेको कार्यक्रमलाई हङकङ नेपाली महासंघ, एनआरएन र नेपाल चेम्बर अफ कमर्श हङकङले पनि साथ दिए।
महिलाहरूको बाहुल्यता रहेको शान्ति र्‍यालीलाई प्रहरीले टनेल र सडक किनारा हुँदै कार्यक्रम स्थलसम्म स्कर्टिङ गरेको थियो। हङकङका नेपालीले यसअघि बुद्ध जयन्ती मनाए पनि शान्ति र्‍याली आयोजना गरिएको यो पहिलो हो। स्कर्टिङमा रहेका एक जना चिनियाँ प्रहरीले बुद्धका पोष्टरसहित नेपालीले शान्ति र्‍याली गरेको पहिलो पटक देखेको बताए। 'नेपालीहरूले सडकमा विरोध प्रदर्शन गरेको हामीले देख्यौँ, अहिले शान्ति र्‍याली गरेकोमा निकै खुसी लाग्यो', उनले भने।
कम्युनिटी सेन्टरमा भएको कार्यक्रम एक किसिमको उत्सव जस्तो लाग्थ्यो। कार्यक्रममा नेपाली जनसम्पर्क समितिका कुलप्रसाद गुरुङ, एनआरएनका सचिव अर्जुन गुरुङ लगायतले नेपालमा जन्मिएका बुद्धको दर्शनले विश्वभरि मान्यता पाउँदै गएको उल्लेख गरे। तमु एसोसिएसनका अध्यक्ष अर्जुन गुरुङले नेपालमा बुद्ध जन्मिएको र नेपाल पर्यटन वर्षको प्रचार एकै पटक हुने गरी कार्यक्रम आयोजना गरिएको जनाए। स्थानीय चिनियाँ नेताहरूसमेत उपस्थित कार्यक्रममा लोकदोहोरी र नृत्य पनि प्रस्तुत गरियो।
चिनियाँ बुद्ध जयन्तीको दिन मंगलबार हङकङ सरकारले सार्वजनिक विदा दिएको छ। बौद्धमार्गीहरूको उल्लेख्य संख्या रहेको हङकङमा स्थानीय चिनियाँहरूले पनि विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाए।


Nagarik News

Posted by Anonymous on 10:08 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हङकङमा नेपालीको बुद्ध जयन्ति र्‍याली

Leave comment

हजुरलाई कस्तो लाग्यो... ?? "कृपया" ▼ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...









.
Butwalonline

Listen Nepali FM Radio

Butwalonline

2011 Saugatsansar.com. All Rights Reserved. - Designed by Sangam Saru